२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

हिमालपारिका विद्यार्थीलाई सम्भव नेपालको पोशाक र शैक्षिक सामग्री

२०७७ माघ ३० शुक्रबार
हिमालपारिका विद्यार्थीलाई सम्भव नेपालको पोशाक र शैक्षिक सामग्री

३० माघ, काठमाडौां । हिमालपारि रहेको गोरखाको चुमनुब्री गाउँपालिकाका एक हजार चार सय १२ जना विद्यार्थीलाई सम्भव नेपाल सामाजिक संस्थाले न्यानो पोशाक तथा शैक्षिक सामग्री बितरण गरेको छ ।

बिहिबार गाउँपालिकाको केन्द्र सिर्दिबास पुगी पूर्व उपप्रधानमन्त्री एवं काङ्ग्रेका नेता प्रकाशमान सिंह र संभव नेपालका अध्यक्ष प्रेम खत्रीले संयुक्त रुपमा विद्यार्थीलाई सामग्री बितरण गरेका हुन् । चमुनब्रीबाट सुरु भएको पोशाक तथा शैक्षिक सामग्री वितरण अभियान गोरखाको धार्चे र भीमसेनथापा गाउँपालिकाका ८८ वटा विद्यालयमा संचालन गर्ने सो संस्थाका अध्यक्ष खत्रीले बताए ।

धार्चे गाउँपालिकाका २५ वटा विद्यालयका चार हजार २० विद्यार्थी, भीमसेन थापा गाउँपालिकाका ४३ वटा विद्यालयका पाँचहजार तीन सय विद्यार्थी गरी १० हजार छ सय ९३ जना विद्यार्थीलाई सो सामग्री बितरण गरिने उनले बताए । ‘हामी सबै विद्यालयमा पुग्न सक्दैनौँ, त्यसैले गाउँपालिका कार्यालय मार्फत ती सामग्री हस्तान्तरण गर्छौ । पहिलो चरणमा चमुनब्री गाउँपालिका कार्यालयमार्फत सातवटै वडाका विद्यालयलाई बिहिवार हस्तान्तरण भएको छ’ उनले भने, ‘अभियान सुरु भइसकेको छ । अब केही समयमा तीनवटै पालिकामार्फत अरु विद्यार्थीलाई पनि बितरण गर्छौँ ।’

विद्यार्थीलाई ट्रयाक सुट, टोपी, स्कूल ब्याग र होमवर्क डायरी बितरण गरिएको छ । एउटा विद्यार्थीका लागि करिब सत्रसय रुपैयाँ बरावरको सामग्री बितरण गरिएको संस्थाले जनाएको छ । सिर्दीबासमा चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति सिंहले दुर्गम क्षेत्रका सबै विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, टोपी, ब्याग र डायरी दिनु प्रभावकारी भएको भन्दै प्रशंसा गरेका थिए । साथै उनले विद्यालय तहमा शिक्षा राम्रो दिन सकियो भने विद्यार्थीको भविष्य उज्वल हुने बताए । उक्त कार्यक्रममा नेपाली कांग्रेसका गोरखा जिल्ला सभापति हरिबहादुर घलेले शिक्षाको बिकासबिना उत्तरी गोरखाको बिकास संभव नभएको बताउँदै शैक्षिक क्षेत्रमा गरिएको सहयोगले स्थानीयलाई फाईदा हुने बताए ।

संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले केही वर्षपछि विद्यालयका विद्यार्थीलाई अहिले दिएजस्तै पोशाक सहितको सामग्री सहयोग गर्ने बताए । होमवर्क डायरीले विद्यार्थी, शिक्षक, र अविभाबकलाई पनि उत्तरदायी बनाउने हुँदा बालवालिकाको शिक्षा दीक्षामा सहयोग पुग्ने बताए । निजी विद्यालयमा भएको अभ्यास सरकारी विद्यालयका बालवालिकामा पनि सिकाउने सक्ने हो भने गुणस्तर बढाउन र अविभाबक शिक्षकलाई थप जिम्मेवारी बनाउन मद्धत पुग्ने बताए । अन्य वडाका विद्यालयको शैक्षिक सामग्री कार्यक्रममा गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङलाई हस्तान्तरण गर्दै गाउँपालिकालाई जिम्मा लगाइएको छ ।

उक्त सामग्री वडामार्फत सबै विद्यालयमा पुरयाउने गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए । कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ, वुद्ध माविका प्रअ प्रकाश घिमिरे लगायतले सहयोगको प्रशंसा गरेका थिए । २०६५ सालमा संभव नेपालको स्थापना गोरखा आरुघाट गाउँपालिका ८ का प्रेमकुमार खत्रीले गरेका हुन् । पर्यटन ब्यवशायी खत्रीले यस अघि चुमनुब्री, धार्चे, आरुघाट, भिमसेनथापा गाउँपालिकामा १४० थान थर्मल गन, ५७ हजार थान कटन मास्क, २० हजार पाँचसय ९२ थान हातधुने साबुन स्थानीय तहमार्फत सबै विद्यालयलाई बितरण गरिसकेका थिए ।