२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

रेलमार्ग सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक भर्चुअल माध्यमबाट सम्पन्न

२०७७ मंसिर ५ शुक्रबार
रेलमार्ग सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक भर्चुअल माध्यमबाट सम्पन्न

५ मंसिर, काठमाडौं । रेलमार्ग सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक भर्चुअल माध्यमबाट गरिएको छ ।

बैठकमा भारत सरकार रेल मन्त्रालय, ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा.मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए भने नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले गरेका थिए ।

बैठकमा भारतको तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास, कोंकण रेलवे तथा आईसीओएनका वरिष्ठ अधिकारीको सहभागिता थियो । नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धकलगायत गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो ।

संयुक्त कार्यदलको उक्त बैठकले जयनगर(बिजलापुर(बर्दिबास र जोगबनी(विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गरेको छ । यात्रुवाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षले छलफल पनि गरेको छ ।

बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुवाहक रेल सेवालाई सुरु गर्न आवश्यक पर्ने स्ट्यान्डर्ड ओपनिङ प्रोसिड्युअरबारे पनि चर्चा गरिएको थियो ।

हाल भारत सरकारले भारु दुई अर्बमा निर्माण गरिरहेको कुर्थादेखि बिजलापुरसम्मको बाँकी खण्डको निर्माण सम्पन्‍न गर्न दुवै पक्षले आवश्यक आपसी सहयोग तथा समन्वयबारे छलफल गरेका थिए ।

सो क्रममा भारु तीन अर्ब ७४ करोड अनुदान सहयोगअन्तर्गत भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्‍न गर्नका लागि तीव्र रुपमा काम अघि बढाउन दुवै पक्षले सहमति जनाएका छन् ।

रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकता अनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन संयुक्त कार्यदलका अध्यक्षद्वयले रेलवे क्षेत्रमा सहकार्य विस्तार गर्न पनि सहमति जनाए ।