२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

मिथिलाञ्चल लगायत तराई मधेशमा छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

२०७७ मंसिर ४ बिहीबार
मिथिलाञ्चल लगायत तराई मधेशमा छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

४ मंसिर, काठमाडौं । मिथिलाञ्चल लगायत तराई मधेशमा छठ पर्वको दोस्रो दिन बिहीबार खरना मनाइँदै छ। आज दिनभर उपबास बसेका छठ ब्रतालुले साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाउने गरिन्छ।

नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई समेत प्रसादको रुपमा खान दिने चलन छ। पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी निकै नियम निष्ठा पूर्वक मनाइने छठपर्व बुधबारबाट विधिवत सुरु भएको हो।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन बुधबार ब्रतालुहरुले नुहाएर अरबा–अरबाइन एवं चोखो खानेकुरा खाएका थिए। यो दिनलाई ‘नहाय खाय’ भनिन्छ। त्यसअघि बुधबार ब्रतालुहरुले माछा र कोदो बारेका थिए। छठ पर्वको मुख्य दिन अर्थात मूल विधि शुक्रबार रहेको छ। भोलि छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र शनिबार उदाउँदो सूर्यको अर्घ दिइने छ।

चार दिनसम्म मुख्य विधि गरि मनाईने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा–अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुनेछ।

छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ। छठ पर्व पाँच दिन मनाइए पनि माछा मरुवा बार्ने दिनलाई मुख्य विधि नमान्दा चार दिन मात्र छठ पर्व मनाउने गरेको प्रचलन छ।