२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

गजल

२०७७ असोज १ बिहीबार
गजल

 – गरिमा पाण्डेय

भैगो एकपटक टुटेको सम्बन्ध फेरी जोड्ने कोसिस नगर ।
भर्खरै पुरिएको त्यो घाउ बल्झाएर मन तोड्ने कोसिस नगर ।

अतीत बिर्सिएर मिठो वर्तमानमा रमाउन खोज्दै छु म,
सम्झाएर विगत फेरी काँडारूपी फूल गोड्ने कोसिस नगर ।

तिम्रो माया केवल स्वार्थमा मात्र सिमित रहेछ प्रिय,
पागल प्रेमी बनाएर फेरी मलाई छोड्ने कोसिस नगर ।

मायाको अदालतमा पिरतिमाथि केस चल्नेछ अब,
ढुङ्गा जस्तै मुटु बनाइसकेको छु, फोड्ने कोसिस नगर ।

सबुत मेरो टुक्रेको मुटु अनि दोषी केवल तिम्रो प्रेम हुनेछ,
त्यसैले त प्रिय मेरो नजिक आई बाटो मोड्ने कोसिस नगर ।

महत्त्व हुन्छ मायाको जबसम्म त्यहाँ निहित स्वार्थ हुँदैन,
प्रेमको नाटक रचेर फेरी सफेद खोल ओड्ने कोसिस नगर ।