२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

बाढीपहिरोले घर बगाएका ढोरपाटनका स्थानीय भन्छन्, ‘घर बग्यो, ऋण बगेन’

२०७७ भाद्र ३१ बुधबार
बाढीपहिरोले घर बगाएका ढोरपाटनका स्थानीय भन्छन्, ‘घर बग्यो, ऋण बगेन’

३१ भदौ, काठमाडौं । झमझम पानी परिरहन्छ । ओत लाग्न छिमेकीको मकैबारी मासेर बनाएको अस्थायी छाप्रोमा दुई परिवारका ७ जना कोचिन्छन् । भुजी खोलाको पश्चिम किनारमा एउटा पुरानो र दाताले दिएका दुई गरी तीनवटा पाल गाँसेर टाँगिएको छ । छाप्रोको एकातिर चित्राले बारिएको छ, अर्कोतर्फ खाली । बाछिटाले सुतेकै ठाउँ भिजाउँछ ।

भदौ १७ मा बाढीपहिरोले विस्थापित भएका ढोरपाटन नगरपालिका–९ सुकुरदुङका नमलाल पुन र उनका भाइ छमेन्द्रको परिवार १३ दिनदेखि पालमुनि जीवन निर्वाह गरिरहेका छन् । ३ वर्षको नाति, बुहारी बिनासहित पुनकी पत्नी एकातिर र दाजुभाइ, छोरा अर्कोतर्फ सुत्छन् । खान, बस्न र रात कटाउन उनीहरूलाई निकै कष्टकर छ ।

मकैबारीभित्रै चित्राले बारेर शौचालय बनाएका छन् । घर बग्दाबग्दै एकजोर कपडा र एउटा खाट मात्रै निकाल्न भ्याएका थिए । त्यही खाटमा बस्ने र खाने गर्छन् । चिसो सहँदै भुइँमै सुतिरहेका छन् । बाढीपहिरो गएपछि यहाँको अवस्था हेर्न धेरै मानिस आए, अहिले पनि आउने क्रम घटेको छैन । पहिरोले क्षतविक्षत सडक हुँदै हातमा चप्पल समातेरै आइपुग्नेले फोटो खिच्छन्, पहिरो गएको दिनको घटना सोधेर फर्कन्छन् ।

तर उनीहरूको घरमा घटनाको भोलिपल्ट पाएको पाल र केही चामलबाहेक अन्य राहत पुगेको छैन । ‘पहिलो दिनमा आएको दुई बोरा चामल र पालबाहेक अरू भेटेको छैन,’ छमेन्द्रले भने, ‘कांग्रेसका टोली आएर चामल र पाल दिएका हुन्, त्यसैमा बसेका छौं, अरू कोही आएनन् ।’

नगरपालिकामा जम्मा भएको राहत सामग्री गाउँमा नपुगेको विस्थापितको गुनासो छ । नगरपालिकामा घरजस्तै बनाउन मिल्ने डेढ सय टेन्ट छन् । सामान्य पानी ओत्ने पाल त्योभन्दा बढी छन् । विभिन्न दाताले दिएका सयौं थान सिरक–डसना नगर प्रमुख देवकुमार नेपालीको दरबार होटलमा थन्किएका छन् । सयौं बोरा चामल वडा कार्यालयमा थुप्रेको र कीरा (चिलेसा) पर्न थालिसकेको वडाध्यक्ष हरिबहादुर घर्ती नै बताउँछन् । तर एकद्वार प्रणालीमार्फत राहत वितरण गरिने भन्दै हालसम्म पीडितकोमा राहत पुर्‍याइएको छैन । विस्थापितहरूको बिजोग हुँदा पनि सरोकारवालाहरू भने योजना रहेको मात्रै सुनाइरहेका छन् । ‘अब समय मिलाएर वितरण गर्ने योजना छ,’ वडाध्यक्ष घर्तीले भने ।

छमेन्द्र र उनकी श्रीमती बेलमती दुवै घाइते हुन् । लाकुरीबोटमा रहेको स्वास्थ्य चौकी बगाएपछि औषधि अभावमा उनीहरूको उपचारमा समेत ढिलाइ भयो । बुर्तिवाङदेखि औषधि पुगेपछि स्थानीय स्वास्थ्यकर्मीले छाप्रोमै गएर उपचार गरिदिए । आराम गर्नुपर्ने अवस्थाका उनीहरूको जीवन भने कष्टपूर्ण छ ।

बाढीपहिरोले सुकुरदुङका मात्रै १५ घर बगाएको थियो । थप १५ घर बस्नै नमिल्ने गरी भत्केका छन् । सबैका घरमा हिलो, ढुंगा र काठ पसेर भत्काएको छ । छानो बचे पनि भित्र बस्ने अवस्था छैन । झोलुंगे पुल बगाएकोले वारपार ठप्पप्रायस् छ । वडा कार्यालय जान भीरमा निगालो समातेर हिँड्नुपर्ने बाध्यता छ । घर गुमेका र बस्न नमिल्नेहरू कोही छिमेकीको पालीमा त कोही मकैबारीमा पाल टाँगेर बसेका छन् ।

घर बग्यो, ऋण बगेन

भीमबहादुर सुनारको परिवार स्थानीय प्राथमिक विद्यालयको कोठामा बसेको छ । उद्धारमा खटिएका केही प्रहरी पनि विद्यालयमै छन् । ५ छोरी, १ छोरासहित सुनार दम्पतीको ८ जनाको परिवारलाई ओढ्ने, ओछ्याउने छैन । गुन्द्री र तन्नाको भरमा रात काटिरहेका छन् ।

विद्यालयको छानोमुनि भएकोले तत्काललाई ओत लाग्न समस्या छैन । भन्छन्, ‘यो त अस्थायी न हो, कतिन्जेल यसरी चल्ला र रु’ घटनालगत्तै सुनारले २ बोरा चामल, एक पोका तेल, एक केजी नुन पाएका थिए । ‘वडाबाट चामल थपिदिने भनेको छ, खानका लागि समस्या नहोला,’ उनले दोहोर्‍याए, ‘बस्ने ठाउँको भने समस्या हुने भयो ।’

बाढीपहिरोले बगाएकोले उनको घरको नामोनिसान भेटिँदैन । नयाँ बनाउन जग्गा पनि छैन । धेरै सन्तान भएकोले पालनपोषणको समस्या छ । ‘१७ वर्षदेखि ३ वर्षसम्मका छोराछोरी छन्, एउटै कोठामा खान, बस्न सास्ती छ,’ उनले भने, ‘अब त बाँच्नै पनि गाह्रो हुने भो, ऋण कसरी तिर्ने रु’ सिलाइकटाइ पेसा गरेर परिवार पालिरहेका उनीमाथि कपडा र मेसिन किन्दा लागेको ५० हजार ऋणको बोझ छ । सुरक्षित जग्गामा घर बनाउनसके मात्रै परिवारको सुरक्षा हुने उनलाई लाग्छ । याे समाचार आजको कान्तिपुर दैनिकमा छ ।