२०७७ असोज ९ शुक्रबार १२ : २२ : ४०

गोरखा : वडाअध्यक्षको फेसबुक अभियानले अपाङ्ग परिवारलाई नयाँ घर

२०७७ भाद्र ३० मङ्गलबार
गोरखा : वडाअध्यक्षको फेसबुक अभियानले अपाङ्ग परिवारलाई नयाँ घर

३० भदौ, गोरखा । गोरखाको एक अपाङ्गता भएको परिवारले नयाँ घर पाएको छ । सामाजिक सञ्जालबाट जुटको सहयोगले नयाँ घर बनेको छ । वडा अध्यक्ष शरण श्रेष्ठको सक्रियतामा १६ लाख ८३ हजार सात सय ४८ रुपैयाँ खर्चमा घर निर्माण भएको हो । उक्त घर मंगलवार एक कार्यक्रमका बिच शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले घरधनी धनबहादुर श्रेष्ठलाई औपचारी रुपमा हस्तान्तरण गरेका हुन् । घर हस्तान्तरण सँगै गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई सहायता सामग्री खरिद गर्न एक लाख रुपैयाँ सहयोग गरेको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएका श्रेष्ठको घर २०७२ सालकै भूकम्पले भत्काएको थियो । दैनिक गुजारा चलाउन समस्या परेको बेला भुकम्पले भत्काएको घरमा बस्न श्रेष्ठ परिवारलाई निकै शकस थियो । धनबहादुर श्रेष्ठ तथा पोषकुमारी श्रेष्ठका ६ सन्तान मध्ये छोरा राजिब श्रेष्ठ, छोरीहरु शिला श्रेष्ठ र लिला श्रेष्ठ पूर्ण रुपमा अशक्त छन् । ‘घर निर्माण पुरा भएको केही समय भयो, बिभिन्न कारणले औपचारीक कार्यक्रम गर्न सकेका थिएनौँ’ वडा अध्यक्ष शरण श्रेष्ठले भने ।

‘घर बनाउने निर्णय भएपछि हामीले उहाँहरुकै छिमेकीहरु रहेको एउटा निर्माण समिति बनाऔं,’ उनले भने, ‘जसजसले पैसा पठाउनु भयो सबै बैक मार्फत समितिले नै काम गर्नु भयो । मैले खाली सहजिकरण मात्र गरेको हुँ सबैको साझा अभियानले नै यो घर बनेको हो । ’

घर निर्माण समितिका अध्यक्ष जितबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत जिबनबहादुर आले, वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, घर निर्माणमा सहयोग गर्ने अभियान्ताहरु बिष्णुकुमार श्रेष्ठ, अमृत श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, किरण श्रेष्ठ, लगायत राजनीतिक दल, स्थानीयको उपस्थिती थियो । भुकम्प प्रतिरोधी पक्की घर बनेसँगै श्रेष्ठ परिवार खुसी छन् । घर निर्माणका क्रममा रणसिंहदल गण गोरखाका नेपाली सेनाले श्रमदान समेत गरेका थिए । घर निर्माण अभियानमा सक्रियहुने हरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।