२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

सुर्खेतमा बलात्कारको झुटो आरोप लगाउने युवतीलाई एक महिना कैद

२०७७ भाद्र ३० मङ्गलबार
सुर्खेतमा बलात्कारको झुटो आरोप लगाउने युवतीलाई एक महिना कैद

३० भदौ, सुर्खेत । बलात्कारको झुटो आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत सुर्खेतले कैद सजाय फैसला गरेको छ । तत्कालीन साल्ट ट्रेडिङ्ग कर्पोरेशन सुर्खेतका प्रमुख रामप्रसाद गुप्तालाई बलात्कारको आरोप लगाउने युवतीलाई अदालतले एक महिना कैद र १५ सय रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

यहीँ भदौ १४ गते अदालतले एक महिना कैद र १५ सय रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए । ‘यो गम्भीर आरोप हो । जबरजस्ती करणीको आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गर्नुहुन्न । अदालतले ती युवतीलाई कैद र जरिवानाको फैसला गरेको छ,’ श्रेस्तेदार बास्कोटाले भने । कैद सजाय फैसला भएकी १८ वर्षीय युवती सुर्खेतको बराहतालकी हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ९क० अनुसार फैसला भएको श्रेस्तेदार बास्कोटाको भनाइ छ ।

गत असोज २८ र ३० गते गुप्ताले कार्यालयमै बोलाएर बलात्कार गरेको भन्दै ती युवतीले मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन् । युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख छ । तर उक्त वकपत्र नै झुटो भएको ठहर गर्दै अदालतले फैसला गरेको श्रेस्तेदार बास्कोटाले बताए । अदालतको फैसलापछि ती युवती फरार भएकी छन् । ‘फैसला भएदेखि ती युवती सम्पर्कमा आएकी छैन्न । कैद भुक्तान तथा जरिवाना असुल गर्न पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाइएको छ,’ उनले भने ।