२०७७ असोज ९ शुक्रबार १२ : २२ : ४०

दुर्घटनामा परेका क्रिकेटर ललितसिंह भण्डारी खतरामुक्त, थप उपचार काठमाडौं ल्याइयो

२०७७ भाद्र २९ सोमबार
दुर्घटनामा परेका क्रिकेटर ललितसिंह भण्डारी खतरामुक्त, थप उपचार काठमाडौं ल्याइयो

२९ भदौ, काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीको काठमाडौंमा उपचार हुने भएको छ।

ललितलाई सिम्रिक एरको हेलिकप्टरमार्फत काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा थप उपचारको लागि ल्याइएको हो । हाल खतरामुक्त रहेका ललितको ग्रान्डी अस्पतालमा थप उपचार हुनेछ।

घाइते ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको छ। हातको कुम र एंगल पनि चोट लागेको छ। उनको हात खुट्टाको शल्यक्रिया गर्नुपर्नेछ।

घाइते भण्डारीको उपचारका लागि राष्ट्रिय क्रिकेट टिमले सम्पूर्ण सहयोग गर्ने कप्तान ज्ञानेन्द्र मल्लले प्रतिवद्धता जनाएका छन्। ‘सम्बन्धीत सरोकारवाला निकायहरुको गम्भिर ध्यानाकर्षण गर्दछु’ कप्तान मल्लले सामाजिक सञ्जालमार्फत अपील गरेका छन्।

आइतबार राति ललित सवार मोटरसाइकललाई  ट्रकले ठक्कर दिएको थियो । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से.१ख १३२४ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिँदा ललितको अवस्था गम्भीर बन्न पुगेकाे थियो ।

उनले २०१८ मा नेदरल्यान्डविरुद्ध एकदिवसीय खेलमा डेब्यु गर्दै दुई विकेट लिएका थिए ।