२०७७ मंसिर १२ शुक्रबार १२ : २२ : ४०

कोरोनाको चपेटामा बालमनोविज्ञान, के सोच्दै होलान हाम्रा बालबालिका ?

२०७७ भाद्र २९ सोमबार
कोरोनाको चपेटामा बालमनोविज्ञान, के सोच्दै होलान हाम्रा बालबालिका ?

कोरोना संक्रमण नेपालमा देखिएसङै देश पुर्ण र आंशिक बन्दाबन्दीको अवस्थामा छ। कतै कर्फ्यु त कतै निषेधाज्ञासमेत जारी भएको छ। कोरोना महामारी समुदायमा फैलिएसङै नागरिकहरुमा थप त्रास फैलिएको छ । अब के हुने होला ? प्रश्न सबैको एउटै छ तर यसको ठोस जवाफ अहिलेसम्म भेटिएको छैन। विश्वव्यापी महामारीसङ जुध्न सबैकुरा छोडेर शक्तिराष्ट्रहरु एकठाउमा उभिएका छन । खोपहरु पत्ता लाग्ने र परीक्षण हुने चरणमा छन । नेपालमा भाईरस भेटिएदेखी हालसम्म ५५ हजारको हाराहारीमा यसको संक्रमण देखिईसकेको छ भने ३४५ जनाको कोरोनाका कारण दुखद मृत्यु भएको छ । यद्यपि उपचारपछी निको हुनेको संख्या उल्लेखनिय छ। हालसम्म नेपालमा ३९ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त भईसकेको तथ्यांक छ।

सबै क्षेत्र,वर्ग,पेशा,उमेरसमुहका मानिसहरु कोरोना र यसले निम्त्याएको भयावह स्थितिबाट नराम्ररी प्रभावित भईरहेका छन।कोरोना भाईरसबाट सिर्जित विषम र असामान्य दैनिकीका कारण वर्तमान र भविष्यको चिन्ता सबैमा व्याप्त छ । अझ भविष्यका कर्णधार मानिने बालबालिकाहरु यसबाट बढी प्रताडित छन। नेपालमा हाल कुल जनसंख्याको झन्डै २९ प्रतिशत हिस्सा १४ बर्षमुनिका कलिला बालबालिकाले ओगटेका छन।नेपालमा कुल कोरोना संक्रमित मध्ये १५ प्रतिशत १८ वर्षमुनिका छन।बालबालिका तुलनात्मकरुपमा कमजोर प्रतिरोधात्मक क्षमता र मानसिकरुपमा बढी संबेदनसिल हुने हुनाले पनि कोरोनाले उनीहरुलाई तत्काल र दीर्घकालमा पार्ने प्रभाव गहिरो हुनसक्छ।

बिहान सबेरै उठ्ने,होमवर्क गर्ने,स्कुल जाने,पुस्तक पढ्ने,साथीहरूसङ खेल्ने उफ्रिने हाम्रा बालबालिकाहरुको दैनिकी कोरोनाले पुर्णरुपमा फेरिदिएको छ। शैक्षिकसंस्था ठप्प भएकाले एकातिर विद्यालय जान नपाउनु अर्कोतिर आफ्ना साथीहरूसंग निर्वादरुपले खेल्ने वातावरण नपाउनुले उनीहरू दिक्क छन। यो अवस्था उनीहरुको लागि विल्कुलै अनौठो छ, अप्रिय छ।

यो फेरिएको उनीहरूको दैनिकीलाई हामीले कसरी सहजीकरण गरिरहेको छौ त ? कतै उनीहरुको त्रासलाई अझै बढाईरहेका त छैनौ ? कोरोना भाईरसका बारेमा सुनिएका धेरै थरीका कुराका कारण बालबालिकाहरु आत्तिनु या डराउनु स्वभाविक नै हो तर अभिभावक र परिवारका सदस्यले उनीहरूलाई त्यो त्रासबाट निकाल्न जरुरी छ, उनीहरुमा त्रास हैन सजकता जगाउनु आवश्यक छ। ईन्टरनेट वा टेलिभिजन साथै अन्य मानिसहरुबाट सुनिएका/देखिएका विभिन्न जानकारीहरु बालबालिकाका लागि बुझ्न कठिन हुने भएकाले उनीहरु सजिलै हतासपन,तनाव वा उदासीको जोखिममा पर्न सक्छन।तसर्थ उनीहरुसंग खुल्ला र सकारात्मक छलफल गर्नुपर्दछ ।

आफ्ना बालबालिकालाई कोभिड १९ को बारेमा पहिल्यै कति थाहा छ त्यहिअनुरुप यसबारे उनीहरूसङ खुलेर कुरा गर्नु उत्तम हुन्छ । एकदमै साना उमेरका बालबालिका जसले यो प्रकोपको बारेमा केहि मेसो नै पाएका छैनन उनिहरुसङ यसबारे कुरै नगर्दा बेस हुन्छ किनकी यसले उनीहरूमा अनावश्यक डर पैदा गराउन सक्छ। ती बालबालिका जसलाई यसबारे थाहा छ उनीहरुलाई थप प्रष्ट पारिदिनुपर्छ ,बालबालिकालाई नकारात्मक भन्दा सकारात्मक पाटो बढी देखाउनु उनीहरूको मनोविज्ञान मैत्री हुन्छ ।आफ्ना बालबालिकाहरुलाई अभिव्यक्त हुन माध्यम प्रदान गर्ने ,सकेसम्म रचनात्मक काममा उनीहरूलाई प्रेरित गर्ने कार्यले उनीहरूमा पैदा हुने डरलाई विस्थापित गर्न सहज हुन्छ ।विद्यालय बन्द भएर यसैपनि उनीहरूलाई आफ्नो पढाईप्रति सुक्ष्म चिन्ता पैदा भैइरहेको हुन्छ तसर्थ कोर्स बुक, अनलाईन स्टडीको बोझ उनीहरुलाई पर्न नदिनु नै बेस हुन्छ , अभिभावकले उनीहरूको स्वभाव र क्षमताअनुसारको सिकाई प्रक्रिया अपनाउन सक्छन ।

ईन्टरनेटमा उपलब्ध सबै जानकारी सत्य होईनन भनेर उनीहरुलाई बताउनुहोस साथै सुरक्षित व्यवहारको बारेका सिकाउन सकिन्छ । जब हामीले टेलिभिजन या ईन्टरनेटमा समस्याग्रस्त तस्वीरहरु देख्छौ तब सबैतिर संकटले घेरेको महसुस हुन्छ।स्कृनमा देखिएको कुरा र वास्तविकता बीच भिन्नता छुट्याउन नसकेर हाम्रा बालबालिका आफुहरु खतरामा रहेको ठान्न सक्छन ।तसर्थ यस्ता कुरा उनीहरूलाई बुझाएर यसबाट उनीहरुलाई टाढै राख्नुपर्दछ।
कोरोना भाईरस संक्रमण फैलीएसङै ठाउँठाउमा मानिसहरुले भेदभावको सामना समेत गरिरहेका छन। बालबालिकाले पनि यस्तो व्यवहार भोगिरहेका हुनसक्छ। को कस्तो देखिन्छ,कुन स्थानबाट आएको हो या कस्तो भाषा बोल्छ भन्ने कुराको कोरोना भाईरससङ कुनै सम्बन्ध छैन भन्ने कुरा उनीहरुलाई बताउनु जरुरी छ। बालमैत्री व्यवहारहरु अपनाए कोरोनाबाट बालबालिकामा उत्पन्न मनोवैज्ञानिक त्रास हटाउन सकिन्छ।