२०७७ असोज ९ शुक्रबार १२ : २२ : ४०

‘खाने मुखलाई माक्सले छेक्दैन रहेछ’

२०७७ भाद्र २३ मङ्गलबार
‘खाने मुखलाई माक्सले छेक्दैन रहेछ’

चार महिना लामो लकडाउन नेपाल सरकारले अन्त्य गर्याे । अघोषित रुपमा त पहिले देखि नै लकडाउन खुकुलो भैसकेको थियो । किनकि बजारहरुमा मानिसको चहलपहल ह्वातै बढेको थियो । जुन बेला सरकारले लकडाउनको अन्त्य गर्याे त्यतिबेला नेपालमा कोरोना नियन्त्रणमा आउनुको त परको कुरा संक्रमितको संख्या झन उकालो लाग्दै थियो । तर सरकार सँग लकडाउन खोल्नुको बाहेक अर्काे विकल्प नै थिएन । चार महिनाको लकडाउनको कारणले नेपालको अर्थतन्त्र धरापमा परि सकेको थियो । सरकारले जनताहरुलाई कर तिर्न आदेश दियो । चार महिनाको अत्यार लाग्दो बिदा पछि फेरि जनजिवन सामान्य बन्दै गयो । जनजिवन पहिले जस्तै हुन थाल्यो । चार महिना देखि बाँकी रहेको काम सिध्याउनको लागि सबै दौड धुप हुन थाल्यो तर त्यो दौड धुपमा हाम्रो आत्मीय दुश्मन कोरोना पनि संगै दौडन थाल्यो ।

जनजिवन सामान्य रुपमै गयो सबै व्यवसायहरु चल्न थाले होटेल, रेष्टुरेन्ट, सरकारी कार्यालय, प्राइभेट कार्यलय , बैंक तथा वित्तिय संस्थाहरु सबै जसो व्यवसायहरु खुल्न थाले । कोरोनाको डरले काठमाडौं छाडेर आ – आफ्नो गाउँ घर गएकाहरु पनि बिस्तारै उपत्यका आउन थाले । व्यवसायीहरु पनि जोखिम मोल्न बाध्य थिए । चार महिना देखिको बाँकी घरभाडा, बैंकको किस्ता र अरु विभिन्न कारणहरुले उनीहरुको व्यवसाय झन् धरापमा थियो । मुखमा माक्स लगाएकै भरमा मुखमा माड पनि लगाउनु पर्ने थियो ।

तर मानिसहरुको भिड बजारमा यसरी बढ्न थाल्यो कि मान्यौ कोरोना त भिडमा च्यापिएर मर्छ । कोरोनाले हामी संग के नै मागेको थियो र ६ फिट को सामाजीक दुरी, मुखमा माक्स र बेला बेलामा हातको सरसफाई तर हामी यति कुरामा चुक्यौं र कोरोनाले पनि खोज्छस् नेत्रहिन नेत्र भने झै कोरोना पनि झन् सक्रिय हुन थाल्यो र संक्रमिताको संख्या दिनमा हजार भन्दा पनि माथि हुन थाल्यो । स्थिति झन् भयावह बन्न पुग्यो । कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या पनि बढ्न थाल्यो र फेरि देशका विभिन्न जिल्लाहरुले निषेधाज्ञ गर्न बाध्य भए । अहिले देशको लगभग आदि जसो जिल्लामा निषेधाज्ञ नै लागु छ ।

यसको प्रत्यक्ष असर परेको छ दैनिक ज्याला मजदुरी गरेर पेट पाल्नेहरु दिन प्रति दिन बढ्दो कोरोना संक्रमणको जोखिम त छदै ट त्यस माथिको यो निषेधाज्ञाले उनीहरु कोरोनाले भन्दा पनि भोकले ज्यान लिने डरमा छन् । जुन दिन काम गर्याे त्यहि दिम मात्र चुलोमा आगो बल्नेहरुकोमा अहिले भोकले पेटमा आगो बलिरहेको छ । परिवारहरुको पेट पाल्न कै लागि निधारमा नाम्लो बेर्नेहरुको अहिले भोकले आन्द्रा बेरिएको छ । कोरोनाले भन्दा पनि भोकले ज्यान लाने भो भन्दै बालुवाटारको गल्लीमा हिड्ने भरियाले रुदै गर्दा, उता प्रधानमन्त्री ज्यू हामी जनतालाई भोकै बस्न दिन्यौ भन्नुहुन्छ ।

प्रधानमन्त्री सम्म यो कुरा नपुगेको होला सायद उनीहरु भोकै बस्ने मात्र होइन कयौ रात भोकै सुते पनि । राज्यकोष बाट तलब खानेहरुलाई यतिको कुरा बोल्न त कुनै आइतबार नै छैन । तर यी नेताहरुको मिठो कुरा त्यी भोका जनतामा पुग्न मात्र महिनौ लाग्छ होला हनि कार्यन्वयन हुन कति वर्ष पो हो । नेताहरु भन्छन पहिले ज्यान बचाउनुहोस् ज्यान बाचे काम गर्नुहोला, तर नेता ज्यू खान नपाएर झन् कति मान्छेको ज्यान जाला ? अब केहि महिना पनि देशको हालत यहि हुने हो भने नेपाल कोरोनाले भन्दा बढीको ज्यान भोकमरीले हुने छ खान नपाएको खाली पेटले भन्दापनि नेताहरुको चिल्ला कुराले जनतालाई झन् ग्यास्ट्रिक भयो ।

प्रधानमन्त्रीले जनतालाई भोकै बस्न दिन्यौ भनेकै दिन नेपाल भारत नाकाबाट नेपाल प्रवेश गर्ने भन्दा नेपालबाट भारत जाने नेपालीहरुको संख्या तेब्बर थियो ।उनीहरु भन्दै थिए नेपालमा बसेर भोकै मरिन्छ पेट पाल्नको लागि भारत जान लाग्यौ मरे बरु उतै मरौला । प्रधानमन्त्रीको भनाई त्यता चाहि मिल्न गयो नेपालीहरु नेपालमा चाहीँ भोकै मर्दैनन् । माफ पाउँ प्रधानमन्त्री ज्यु यो भनाईलाई प्रत्येक दिन साझ बिहान टुडिखेलमा भोको पेट शान्त पार्न कै लागी मनकारी सस्थाले उपलब्ध गराउने खाना खान आउनेहरुको लाईनले गिज्याउदैन र ? टुडिखेलमा मात्र होईन प्रधानमन्त्री ज्यु देशैभरिको अबस्था यस्तै छ । आफ्नो सिमित घेराबाट बाहिर निस्केर आम गरिब र मजदुर बर्गका नागरिकहरुको पीडा बुझ्ने कोसिस गर्नुभयो प्रधानमन्त्री ज्यु ?

सरकारले जनताको अमुल्य जिबनलाई किन सर्पको भन्दा सस्तो बनायो ? अहिलेको प्राथमिकता आम गरिब र मजदुरको जीवन बचाउनु हो ? सरकारको बोली र व्यबहारमा आकास जमिनको अन्तर देखिएको छ। निषेधाज्ञाले गर्दा आम नागरिकको जनजिबन अन्त्यत कष्टकर बन्दै गैईरहेको छ । रोगले भन्दा भोकले मानिस मर्ने अबस्था आईसकेको छ । काेराेना/ काेभिड-१९ अब केवल राेग मात्र नभई एक आतंक बन्दै गईरहेको छ । यसले जनताकाे शारीरिक स्वास्थ्यमा भन्दा बढी मानसिक र चुल्हाे-चुल्हाेमा प्रहार गर्दैछ । निषेधाज्ञा हामी र हाम्राे अर्थतन्त्रले थेग्न सक्दैन, समयमै बैकल्पिक धारणा बनाई जनजिवन सहजिकरण गर्नु नै बुद्धिमानी हुन्छ । अब गफमा होईन एक्सनमा उत्रनेबेला आईसकेको प्रधानमन्त्री ज्यु ।