२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

जनताको दुःख जहाँको त्यहीँ

२०७७ भाद्र ५ शुक्रबार
जनताको दुःख जहाँको त्यहीँ

शिव बुढा
सुर्खेत, सिम्ता
५ भदौ । स्थानीय, प्रदेश र संघको निर्वाचन भएको झण्डै ३ बर्ष पुग्न लागेको छ, सिम्तामा जुन किसिमको विकासले गति लिनुपर्ने थियोे, बिडम्बना त्यो गति लिन सकेको छैन । आज पनि सुगम पहाडी जिल्ला भनिने सुर्खेतको कुनै स्थानमा सडक र बत्ती पुगेको छैन भन्दा कसैलाई त पत्यार नै नलाग्ला । हो सुर्खेतको उत्तर पूर्वमा पर्ने सिम्ता गाउँपालिकाका जनता आज पनि दियालो र टुक्की बत्तीमा जीवन जिउन बाध्य भएका छन् । वर्षौ देखि बत्ती, सडक र खानेपानी आउने आसमा बसेका त्यहाँका जनताको आशा निरासामा परिवर्तन भएपछि केही हुने खानेले सलोर बत्ती राखेको देखासिखी गर्न थाल्दा प्रत्येक घरपरिवारले एउटा जवान छोरा वा छोरी प्रदेशको श्रम बजारमा बेचीन परेको तितो सत्य यथार्थै छ । जब पर्‍यो राति अनि बुढी तात्ती गर्ने त्यहाँका स्थानीय जनप्रतिनिधी देखि प्रदेश र संघका प्रतिनिधी समेत एउटै भाकामा स्वर मिलाएर चुनाव ताकी मात्रै जनताको घरदैलोमा पुगेर अनेकौं झुट्टा आस्वासन बाँड्ने गर्दछन् ।

यहाँका जनताले नयाँ जोस र जाँगर भएका युवालाई गाउँपालिकाको अध्यक्षमा चयन पनि गरेका थिए र ति युवा नेताबाट सिम्ताली जनताले धेरै आशा गरेका थिए, यो स्वभाविक पनि थियोे, किनकि यहाँका जनतालाई लामो समयसम्म विकासबाट पछाडी पारिएको थियोे । एक्काइसौं सताब्दिमा आइपुग्दासम्म पनि त्यहाँका जनतालाई दियालो र टुकी बाल्न विवस बनाईएको छ । जनताले उज्यालोको सपना र उज्यालोको भविष्ययबाणी गरेका थिए । अहिले आएर यी सबै मिथ्या र झुट साबित हुन थालेको छ । न त हालसम्म यहाँका जनताले उज्यालोमा बस्न पाए न त उचित स्वास्थ्य सेवा नै । सुरक्षित गर्भवती सेवा र भिडियो एक्सरे गर्न पनि लामो यात्रा तय गरेर सुर्खेतको सदरमुकाम या त बाँकेको नेपालगञ्ज धाउनु पर्ने बाध्यता जिउँका तिउँनै छन् ।

तर बिडम्बना नै भन्नु पर्छ हामीले सोचे भन्दा अलि फरक हाम्रा जनप्रतिनिधिमा अलि कति विकास भएको छ । उनीहरुको जीवन स्तरमा केही नयाँ परिवर्तन आएको छ । काठमाडौं नै राम्रोसँग नदेखेका जनप्रतिनिधिहरुले राजधानीमा जग्गा जमिन र घरघडेरी जोड्न सकेका छन् । जनता भोक वा रोगले मरे पनि उनीहरुलाई मतलब छैन । त्यहाँका जनताको एउटै मात्र आवाज छ, कति समय हामी अन्धकारमा बाँच्ने ? के हामीलाई बत्तिमा बस्ने अधिकार छैन ? के हामीलाई उचित स्वास्थ्य सेवा पाउने अधिकार छैन ? के हाम्रा छोराछोरीलाई आधुनिक शिक्षा पाउने अधिकार छैन ? दुनियाँ नेट(इन्टरनेट र सामाजिक सञ्जालको जमानामा हामीमा त्यो अधिकार छ की छैन ? हाम्रा जनप्रतिनिधिसँग यी र यावत् यस्ता प्रश्न सोध्ने अधिकार त हामीलाई छ । तर यिनको सहि उत्तर दिने ति जनप्रतिनिधीलाई फुर्सद नै छैन । उल्टै यस्ता प्रश्न सोध्ने त्यहाँका जनतालाई दुश्मन देख्ने तपाईहरूका आँखामा लागेका धमिला चस्मा कहिले उतार्नु हुन्छ ? अब मात्र यहि प्रश्नको उत्तर खोजिरहेका छन् सिम्ताका जनताले । आशा छ त्यहाँका जनताका सपनाहरू स्थानीय सरकारले पूरा गर्नेछ र गर्नु पनि पर्छ ।