२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

​आज हरितालिका तीज अन्तर्गत दर खाने दिन, कोरोनाका कारण रमझम र चहलपहल शुन्य

२०७७ भाद्र ४ बिहीबार
​आज हरितालिका तीज अन्तर्गत दर खाने दिन, कोरोनाका कारण रमझम र चहलपहल शुन्य

४ भदाै, काठमाडौं । हिन्दु नेपाली महिलाको महान् पर्व हरितालिका तीजअन्तर्गत आज दर खाने दिन, विभिन्न मिठा परिकार बनाएर खाने प्रचलन छ । तीजको ब्रत बस्ने दिनको अघिल्लो राती दाजुभाइले दिदीबहिनीलाई दर खुवाउने गर्दछन् । माइतीबाट टाढा रहेका चेलीबेटीलाई बोलाएर खीर, गुँद, ढकनी, हलुवा, घिउ, दुध, दहीलगायत खानेकुरासहितको दर खुवाउने गर्दछन् ।

चेलीको दुःख भुलाउनका लागि मनाइने गरिएको यस वर्षमा भोलीपल्ट ब्रत बस्ने भएकाले पनि अघिल्लो दिन त्यसको आडका लागि दर खाने गरिन्छ । पछिल्ला वर्ष भने व्यस्तताका कारण केही हप्ता अघिदेखि नै दर खान सुरु गरिन्छ । आज राती दर खाएपछि भोली हरितालिकाको मुख्य दिन श्रीमान्को दीर्घायुको कामना गर्दै महिला ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले भने राम्रो पति पाउने विश्वासमा ब्रत बस्ने परम्परा छ ।

दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषिपञ्‍चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन भगवान गणेशको पूजा र पञ्‍चमीका दिन स्‍नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्‍ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् ।

संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । काठमाडौं उपत्यकामा दर खाने दिनदेखि नै निषेधाज्ञा जारी गरिएकाले यस वर्ष तीजको रमझम र चहलपहल उपत्यकामा छैन ।