२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

आज कुसे औंसी तथा बुवाको मुख हेर्ने दिन

२०७७ भाद्र ३ बुधबार
आज कुसे औंसी तथा बुवाको मुख हेर्ने दिन

३ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । हिन्दु धर्मशास्त्र अनुसार वर्षभरी देवकार्य र पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने कुश आज घर घरमा भित्र्याएर कुशे औँशी मनाउँदैछन् ।

आजको दिन कुश घरभित्र राख्दा परिवारको कल्याण तथा घर पवित्र हुने धार्मिक विश्वास छ ।

‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।आज छोराछोरीहरूले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्ने गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

पितृसम्मान दिवस

यस्तै आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ ।

बुवाको सम्मान गर्दै मिष्ठान्न भोजन तथा उपहार दिई मुख हेर्ने पनि गरिन्छ । बुवा नहुनेहरुले पितृको तृप्ती तथा कल्याणको कामना गर्दै काठमाडौको गोकर्णमा रहेको गोकर्णेश्वर मन्दिरमा गई श्राद्ध तर्पण गर्ने पनि चलन छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

मोतीराम जन्मजयन्ती

आज नै नेपालका राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती पनि मनाईंदैछ । आजै मोतीराम जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विक्रम सम्बत् १९२३ साल भाद्र कुशे औंशीका दिन जन्मेर वि.सं. १९५३ साल भाद्र कुशे औंसीकै दिन निधन भएका मोतीराम भट्ट माध्यमिक कालीन नेपाली साहित्य र श्रृंगारिक धारका प्रवर्तक मानिन्छन् ।

भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए । उनले कबिता, गीत, गजल, नाटक र गद्य लेखेर नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना समेत शुरुवात गरेका थिए ।