२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

सिकाई प्रक्रिया हो, जीवन पाठशाला – भुपी सरोबर

२०७७ श्रावाण ३० शुक्रबार
सिकाई प्रक्रिया हो, जीवन पाठशाला – भुपी सरोबर

सुदूरपश्चिम प्रदेश बैतडी जिल्लाको सिगास गापा वडा न. ०३ गैरनोलीमा वि=स= २०५१साल वैशाख ०१ मा बुवा त्रिलोकसिंह धामी र माता कित्थीदेवी धामीको माइलो सन्तानका रुपमा जन्मिनुभएका साहित्यकार भुपि सरोवर त्रिभुवन विश्व विद्यालय किर्तीपुर काठमाडौंबाट अंग्रेजी र एमपिएमा  मास्टर्स गरिरहनुभएको छ। उहाँ हाल सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा बसि शिक्षण पेशा र पत्रकारिता गरिरहनुभएको छ भने  काठमाडौमा हुने विभिन्न साहित्यिक कार्यक्रममा कार्यक्रम सञ्चालकका रुपमा र विभिन्न साहित्यिक संघसंस्थासङ्गहरु पनि आवद्ध भइ काठमाडौं र सुदूरपश्चिममा विगत नौ दस वर्षदेखि निरन्तर नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान पुर्‍याउदै आउनुभएको छ । प्रस्तुत छ दृष्टान्तकर्मि सुस्मिता न्याैपानेले उहाँसँग लिनुभएकाे अन्तरवार्ता ।

 तपाईंको परिचय पश्चात् तपाईंको लकडाउनको केही अनुभव बताई दिनुहुन्छ कि ?

गत चैत्र महिनादेखि निरन्तर चलेको लकडाउन साउन ७ गते राती १२ बजे खुलेपछि पिजडामा थुनिएको चरी पिजडाबाट निकाल्दा कति खुसी हुन्छ हो त्यस्तै भएको थियो । संक्रमणको स्थितिबाट नेपाल पनि अछुतो नरहेपछि नेपाल सरकारले एस ईई परीक्षा स्थगितसङ्गै अधिराज्य भरिका स्कुलहरुको परीक्षा पनि केही दिन अगावै सञ्चालन गर्न लगाइ लकडाउन सुरु गर्ने निर्णय गरेपछि समयमै परीक्षा सकेर कापीहरु जाँच्दै थिए। आफ्नो सहित केही अरु शिक्षकहरुले पढाउने बिषयहरुको उत्तरपुस्तिका पनि मैले नै जाँच्नुपर्ने भएपछि मलाई सुदूरपश्चिम घर फर्किन ढिलाइ भो र म यस्तै बस्न बाध्य भए र अहिलेसम्म
पनि घर फर्किन पाएको छैन् यतै होम(रुम) क्वारेन्टाइनमा बसिरहेको छु । केही अनुभवहरु अविस्मरणीय रहे। पहिलो अनुभव अहिलेसम्मको जीवन कालमा यो लकडाउन अवधिभर दर्जन भन्दा बढी केही मदन पुरस्कार विजेता त केही उत्कृष्ट कथा अनि उपन्यासहरु पढियो । केही साहित्य रचना गरियो । केही अन्य विधाका पुस्तकहरु पनि पढियो । अनलाइन साहित्यिक कार्यक्रममा निकै सक्रिय भैइयो । दोस्रो अनुभव भनेको म निकै डुलिरहने मान्छे हो कहिले पूर्व तिर त कहिले पश्चिमतिर अनि काठमाडौका त कतिपय कार्यक्रम म स्वयंले नै चलाउने भएर पनि धेरैजसो यात्रामै हुने गर्दथे । एकै ठाउँमा त्यो पनि एउटा सानो चार वालले बन्द कोठामा त झनै गाह्रो । निकै उकुसमुकुस । प्रविधि र सामाजिक सञ्जालको दुनियाँ नभैदिएको भए झनै मुस्किल हुन्थ्यो । घरभित्रै बस्नपर्दा कयौं रोग र शोकले ग्रसित भए । रोगी हुनेहरुमा मानसिक रोगी धेरै देखिए । लकडाउन अवधिभर देशभर विभिन्न सामाजिक र मानसिक समस्यामा परि आत्महत्या गर्नेहरुकै सङ्ख्या १६४७ पुग्यो । प्रभाव र अभावले यसरी जरा गाडिदियो कि उम्किनै मुस्किल हुने गरि। जहाँ हुनेखाने वर्गलाई त गाह्राे महसुस भयो भने हुदा खाने वर्गलाई त झन् जीवन मृत्यु को दोसाँधमा परे जुन अहिले लकडाउन खुकुलो भए पश्चात् अलिकति राहत मससुस गरेका छन् । तेस्रो अनुभव भनेको खासमा लकडाउन अवधिको अनुभव भन्ने हो भने त जिन्दगीमा कहिल्यै भुल्न नसकिने अनुभव भयो । जुन घटना अहिल्यै म यहाँ व्यक्त गर्न सक्दिनँ । किन कि उहाँहरुको कसैप्रतिको रीस क्षणिक भरको स्वार्थले गर्दा अहिले महिना बितिसक्दा पनि उहाँहरु लज्जित भएर हिड्नुपरेको छ । यस घटनाले उहाँलाई चै के सिकायो कुन्नि उहाँलाई नै थाहा होला तर मलाई भने ठूलो पाठ सिकायो त्यो के भने कसैलाई वर्तमान समय सापेक्षलाइ मात्रै ध्यान दिएर म तिम्रा लागि यस्तो गरिदिउला,तिमीलाई यस्तो बनाइदिउला भनेर भन्नै नहुने रहेछ किन कि त्यो वर्तमान समय सापेक्ष भोलि त्यस्तै नहुदो रहेछ नरहने रहेछ किन कि समयसङ्गै हरकुराहरु उस्तै नरहदा रहेछन् र परिवर्तन भैरहने रहेछन्। अनि विश्वास दिनु र आश्वासन दिनु अगाडि आफ्नो बुद्धि, विवेक,शक्ति सामर्थ्य र पहुँचले त्यहाँसम्म काम गर्छ कि गर्दैन त्यो पनि बुझ्नु अनिवार्य हुदोरहेछ । तर यो एउटा कुरामा चै सम्भव हुन्छ त्यो के भने जब यदि भविष्य वर्तमानको गर्भमा खेलिरहेको छ भने ।

पछिल्लो समय साहित्य क्षेत्रमा युवा पुस्ताको सहभागिता निकै कम रहेको पाइन्छ । साहित्य क्षेत्रमा युवा पुस्ताको रुचि कम हुनुको कारण के हुन सक्छ ?

साहित्य क्षेत्रमा युवा पुस्ताको सहभागिता र सक्रियता निकै कम मात्रामा छ भनेर भन्न त सकिन्न । यो अवस्था विस्तारै सुध्रिदैछ । दशक अगाडिको अवस्था र अहिलेको अवस्था हेर्ने हो भने बढिरहेको छ । कतिपय प्रतिभाहरु मिडियाको पहुँचमा पुग्न नसकेर थन्किएर रहेका छन् भने कतिपय विभिन्न बाध्यतात्म परिस्थितिबाट गुज्रिरहेका कारण झट्ट हेर्दा त्यो लाग्न सक्छ । नेपाली भाषा साहित्यको क्षेत्रभनेको नितान्त सेवा क्षेत्र हो । अझ यसमा स्वयंकै लगानीमा विभिन्न गतिविधिहरु गर्न सके मात्रै ,विभिन्न भइरहने कार्यक्रम महोत्सवहरुमा पुग्न सके मात्रै उसको उपस्थिति अरुहरु देख्न सक्ने र केही गरिरहेका छन् कि भन्ने अरुहरुले पनि बुझ्न सक्ने तर पर्दा पछाडि लुकेका कुराहरु साहित्य क्षेत्रमा आफुलाइ अनुसन्धानकर्ता र विज्ञका रुपमा परिचय दिनेहरुले पर्दापर्ण गर्न नखोज्दा भनौं या नसक्दा भनौं भएको हो । अनि अर्को कुरा यो नेपाली बेरोजगार युवाहरु र घरबाट टाढा कोठा भाडामा लिइ पढिरहेका विद्यार्थीहरुमा पनि गाह्रो छ । आर्थिक समस्या पनि एक हो र कतिपय सामाजिक सञ्जालबाट पनि टाढा रहेका कारण पनि सक्रियता कम हो कि जस्तो लाग्छ । अनि मुख्य समस्या के हो भने एक्कासि क्यै नबुझी ,गहन अध्ययनको कमि, कुनै अनुसन्धान नगरि साहित्य क्षेत्रमा हात हाल्नु, छोटो समयमा ठूलो सफलता खोज्नु,विज्ञहरुसङ्गको सम्पर्कमा नरहनु यदि रहिहाले पनि अग्रज साहित्यकारहरुले अनुजहरुलाइ वास्ता नगर्नु , उचित सल्लाह सुझाव र साथ नदिनु,दिइहाले पनि एकैचोटि महाभारत पढाउन खोज्नु र अग्रजहरुले आफुलाइ महारथि ठानेर रथ तान्नेर गन्तव्यमा पुर्‍याउने मैदानका घोडाहरुको अवस्था नबुझी रथ हाक्न खोज्नु मुख्य समस्या हो । जसले गर्दा इच्छुक नवयुवा वर्गमा नैरश्यता पैदा हुन्छ र बाटो मोडिदिन्छन् । यदि यो खाडल समयमै पुरिन्छ भने नेपाली भाषा साहित्यको क्षेत्र विश्वभर त फैलिएकै छ अझै अनन्त आकाश चुम्न सक्ने सम्भावना धेरै छ । त्यो कुनै दिन हुनेछ आशा गरौं ।

साहित्य क्षेत्रमा आउन चाहने नयाँ युवा पुस्तालाई कस्तो सुझाव दिन चाहानु हुन्छ ?

नेपाली भाषा साहित्यमा जोडिएका र जोडिन चाहने नवयुवाहरुलाई के भन्छु भने सबैभन्दा पहिले त महामी सबै सिकारु हौं आफैमा पूर्ण कोही केही पनि हुदैन् र महत्त्वपूर्ण कुरा के भने हामीमा अध्ययन अनुसन्धानको भोग हुनुपरो । कुनैपनि कुरा त्यसबारे ज्ञान नहुदा सम्म त्यो अधुरो हुन जान्छ । सुरुवाती
देखि अन्त्यसम्म जानकार बनौं । आफ्नो बुद्धि विवेकले भ्याएसम्म अनुसन्धान गरौं । आदि के हो ? र अन्त्य के हुन्छ भनेर । कपि पेष्ट पटक्कै गर्दै नगरम । शिखरबाट यात्रा नगरौं । शिखरका लागि यात्रा गरौं । अहिले विश्व बजारमा के मिल्दैन र ? खोजी खोजी पढौं । अग्रजहरुलाई घचघच्याअौं । अग्रज बन्नकै लागि मात्र चुरिफुरी देखाउनेहरुको पछि नलागौं।  नमाने आफ्नो रुचि अनुरुपको पुस्तक खोजी स्व-अध्ययन गरेर लागौं । केही न केही कुनै न कुनै दिन सफरको मीठो फल हात लाग्नेछ ।

देश विकासमा युवाको सहभागीता धेरै कम छ । तपाईंको विचारमा युवाको सहभागीता बढाउन सरकारले कस्तो नीति अपनाउनु पर्छ ?

देश विकासमा भन्दा पनि अहिले युवाहरु विदेश विकासमा धेरै छन् । छिमेकि मुलुक भारतमै मात्र हेर्ने भने एउटा सम्मानित सेवा क्षेत्र भारतीय सेनामा मात्रै ५० हजारको सङ्ख्यामा नेपाली युवा सेवारत छन् ।अन्य सामान्य रोजगारीमा लाखौंको सङ्ख्यामा रहेका छन् । त्यसैगरि अन्य मुलुकतिर पनि दैनिक दशौं
हजारको सङ्ख्यामा नेपालबाट कोही उच्च र सीपमूलक शिक्षाका लागि त कोहि रोजगारीका लागिपलायन भैरहेका छन् । शिक्षा आर्जनपछि उतै रोजगारी र घर बसाएर स्वदेश फर्किन चाहदै चाहदैनन् भने अशिक्षित युवा रोजगार गर्न गएकाहरु घर फर्केर त आउछन् तर निष्क्रिय जीवन भए पश्चात् मात्रै । कारण के रहेछ त भन्दा शिक्षाको कमि, गरिबी र बेरोजगारी । श्रम बेच्न गएकाहरुको पारिश्रमिक पनि थोरै हुन्छ । त्यहीँ पारिश्रमिकको रेमिट्यान्सबाटै नेपालको 80% अर्थतन्त्र धानिरहेको छ । उच्च शिक्षा हासिल गर्न गएकाहरुको सीप बेचिन्छ उच्च पारिश्रमिक पनि आउँछ तर मान्छे नै उतैको नागरिक बनिसकेको हुन्छ र रेमिट्यान्स भित्रिदैन। अन्त्यमा के हुन्छ भने सीप विदेशी भूमिमा बस्छ बूढो अस्थिपन्जर स्वदेश भूमिमा भित्रिन्छ। जे जति भित्रिएको रेमिट्यान्स जब देश विकासको बजेटका रुपमा बाडिन्छ विकास नेताको भाषणमा हुन्छ, योजना कागज र बजेट खल्तीमा हुन्छ अनि कहाँबाट होस्
देशको विकास अनि कसरी लेअोस् देशले समृद्धि ! यदि देशका लागि लाग्ने हो भने वैज्ञानिक शिक्षा, प्राविधिक ज्ञान ,सीपमूलक र रोजगारमूलक शिक्षाको व्यवस्था हुनुपर्छ । शिक्षा निति फेरिनुपर्छ । युवा लक्षित प्रविधिमैत्री शिक्षा,सीप,तालिम र रोजगारीको ग्यारेन्टी हुनुपर्दछ । विभेद र भष्ट्राचार उन्मुलन हुनुपर्दछ। कितावी पानाभित्रका काला अक्षरहरुको रङ्ग,आकार प्रकार र सङ्ख्याको मापनले मात्रै हुदैन। झन यसले प्रमाणपत्रले डिग्री हाँसिल गरेका तर यसले न त सिन्को भाँच्न सक्ने न त बाँझो खेत जोत्न सक्ने बेरोजगार युवाहरुको भीड लगाउने मात्रै गर्छ जसको फलस्वरूप देश उँभो गतितिर नभै उँधो गतितिर जान्छ ।

 अहिले देश माहामारीसँग लडिरहेको छ । यस्तो परिस्थितिमा युवाको भूमिका कस्तो हुनुपर्छ ?

अहिले सिङ्गो विश्व नै कोरोना संक्रमणले आक्रान्त बनेको छ । यो संक्रमणले कसैलाई पनि अछुतोछोडेको छैन् । न बालक न युवा न बुढाबुढी कसैलाई पनि छोडेको छैन् । कुनै आधिकारिक र वैज्ञानिक पुष्टिसहित न त यसको अौषधी उपचार नै छ । यसको अौषधी उपचार भनेकै सुरक्षित र संयमित हुनु हो । क्वारेन्टाइन होस् या होम क्वारेन्टाइनमा सुरक्षित नै रहनुको विकल्प छैन् । सानो लापरवाहीले विश्वभर लाखौंको सङ्ख्याले ज्यान गुमाउन पुगे । संक्रमण हुनबाट आफू अनि अरुलाइ पनि सुरक्षित राख्नुको साटो युवाहरु कानुन उल्लंघन गरेर बिनाकाम ठुल्ठुला हूल जमा गरेर लखर लखर डुल्नुले पनि संक्रमणको जोखिम बढेको हो । सबै पर्दछन् भन्ने चै होइन । कतिपय चाहिँ निकै लापरवाहीले ढङ्गबाट ढुलिरहेका हामी देख्नसक्छौं । देश यस्तो महामारीसङ्ग लडिरहेको परिस्थितिमा आफू सुरक्षित रहेर अरुलाइ पनि राख्न सकिने नयाँ रचनात्मक कार्य गर्नु उत्तम हुन्छ । सामाजिक र आर्थिक अवस्थाबाट निकै दयनीय अवस्था गुजारिरहेकाहरुको उद्धार, अौषधी उपचार सेवा र व्यवस्थापन गरेर उदाहरणीय काम गरेर देश संक्रमण हुने खतराबाट सुरक्षित राख्न सकिन्छ । नत्र सकिदैन भने आफू बिनाकाम हूल बाँधेर नहिडि घरभित्रै आफू र आफ्नो परिवार सुरक्षित राखिदिए भनेपनि देश आफैमा सुरक्षित हुँदै जान्छ । अनि अर्को कुरा संक्रमण त मान्छेमा हो भएको माटोमा त होइन । अरु कुनै निजी तथा सरकारी कार्यालय खुलेका छैनन् । यदि यस फुर्सदिलो समयमा कृषिजन्य कार्यमा लाग्यो भने आफू अनि आफ्नालाई पनि पुग्छ । कृषि उब्जनी फसल भयो भने हामीलाई खान पनि पुग्ने बेच्न पनि पुग्ने र संक्रमण नियन्त्रण नहुञ्जेल हाम्रो देशका सबै आन्तरिक बाह्य उडान सहित नाकाहरु पनि बन्द गरिदिए के नै फरक पर्छ र ? यसरी विभिन्न रचनात्मक कार्य गरेर युवाहरुले यसमा अवस्थामा देशको सेवा गर्न सक्दछन् भन्ने लाग्छ ।

नेपाली राजनीतिमा युवाको सहभागीता कमै छ । तपाईंको विचारमा राजनीतिमा युवा पुस्ताको सहभागीता आवश्कता छ कि छैन  ?

भोलिका देशका कर्णघार आजका बालबालिका अनि देशका मेरुदण्ड युवा भनेर भन्ने अनि युवाहरुलाई नै सामाजिक ,आर्थिक र राजनैतिक गतिविधिबाट टाढा राखेर देश समृद्धितिर लम्किन्छ त? अवश्य कहिल्यै लम्किदैन् । युवाहरुसङ्ग त्यो सामर्थ्य हुन्छ जुन अरुहरुसङ्ग हुदैन। चाहे हरेक काम कुराहरु शारीरिक र बौद्धिक रुपमा ठिक ढङ्गबाट ठिक समयमा सफल पार्न सक्छन् । तर हाम्रो देशमा त्योकिसिमको परिपाटी नै बसेको छैन् । युवाहरुलाइ प्रयोगका रुपमा लिएका छन् । पार्टी झण्डा र चर्का भाषण लगाउनमा । अगाडि बढ्न खोज्दा खुट्टा तानेर लडाइन्छ सिध्याइन्छ । बेला बेला युवापङ्ति
अगाडि नबढेको होइन । राणा शासनकालमै हेर्नुस् जनसेवक विद्वान राजा जयपृथ्वी बहादुर सिंहलाई देश निकाला गरियो । प्रवासबाटै लुकीलुकि देश र जनताको सेवा गरे अन्तमा प्रवासै स्वर्गवास हुनुभो । राणाशासन ढलेपछि कै कुरा गरौं महान चार सहिद गंगालाल , धर्मभक्त,दशरथ चन्द र शुक्रराज देश परिवर्तनका खातिर लडेका होइनन् ? जन राजनिती गरेका होइनन् ? तर के भयो उहाँलाई झुण्ड्याइयो गोली ठोकियो । त्यसरी नै विपी कोइराला जस्ता जननेतालाइ बेला बेला झेल कोचियो । भूपि शेरचन, मदन भण्डारी, भीमदत्त पन्त प्रेमसिंह धामी जस्ता राजनैतिक दुरदर्शि जननेताहरुलाई मारियो । युवाहरुको सहभागीता कम छैन् । म मेरो स्वयंको सामान्य सदस्यदेखि लिएर संगठनको केन्द्रीय सदस्य भै राजनिती परिवेशमा खेल्दासम्मको अनुभवले भन्छ कि युवाहरुमा चासो नभाको होइन राजनैतिकपार्टीपंक्तिका टाउकाहरुले प्रयोग बाहेक माथि उठ्न दिएका होइनन् र बिस्तारै विचलन र पलायन भएकाभन्न सकिन्छ । युवाशक्तिलाई राजनीतिबाट अलग्गै राखेर हेरम त ल देश भताभङ्ग हुन बेर लाग्दैन् । राजनीतिक अग्रपंक्तिमा जान नपाए पनि त देशको सेवासुरक्षा देखि लिएर सरकारले गर्ने हरेक कामहरूको निगरानी गरेर आवश्यक कार्वाही गरेको छ । देश डुब्नबाट बचाएर काँधमा बोकेर हिडिरहेका छन् अवश्य पनि युवा राजनीतिक अग्रपंक्तिमा बस्न पाउनुपर्छ र अहिलेको आवश्यकता पनि हो ।

 पछिल्लो समय हजारौं युवा कामको, शिक्षाको शिलशिलामा विदेशीएका छन् । युवा पुस्तालाई नेपालमै रोक्न सरकारले कस्तो नीति अपनाउनु पर्छ ?

यसका लागि सरकारले सपना मात्रै बुनेर हुदैन । चुनावको बेला भाषण छाँटेर हुदैन् । विश्वास राख्न सक्नुपर्छ र दुरदर्शिताका साथ आधारभूत आवश्यकता परिपूर्तिका साथसाथै युवा लक्षित नयाँ सोंचका साथ पर्याप्त रोजगारीका अवसर सिर्जना गर्नुपर्दछ । यस सम्बन्धमा मैले अघि पनि बोलेको छु  कि
सरकारले के के गर्नुपर्दछ भनेर । छोटोमा के भन्छु भने अहिले २१अौं शताब्दीको विश्व समुदायले मागेको के हो त्यसै अनुरुप सरकारले अघि बढ्नुपर्छ र स्वदेशमै युवाशक्तिलाई परिचालन गर्ने गरि रणनीति लागू गर्नुपर्दछ ।

नेपालमा रोजगारीको अवसर छैन भनिन्छ । तपाईंको विचारमा नेपालमा काम गर्छु भन्ने युवाहरुकोलागी अवसर छ वा छैन ? तपाईंले देख्नु भएको अवसर केहि छन् ?

नेपालमा रोजगारीका अवसर छैनन् भन्नू हामी मानसिक रुपममा असक्षम र अपाङ्ग हौं भन्छु म त। रोजगारीका अवसर नै छैनन् भनेर कि सुति बस्ने कि त विदेशै पलायन भएपछि कसरी सिर्जना हुन् त अवसर  । रोजगारी ग्यारेन्टी गरिदिने तहलाई बेलाबेला घचघच्याउने कसले ? हरेक कुराहरुको सुरुवात
आफैबाट गर्नुपर्छ । अर्काले गरिदेला र म खाउला भनेर बस्नु भनेको `अर्का भर पर ,भोकै मर´ भनेझै हो । नेपालमा अवसर अनगिन्ती छन् तर हामीले चिन्न सकेका छैनौं । हामीले टेक्निक अपनाएका छैनौं । अहिलेको आवश्यकता र माग के हो पहिचान गर्न सकेका छैनौं । यसरी विचार गरौं विश्व अहिले दुई कुराको विकासको द्रुतगतिमा दौडिरहेको छ । एउटा विज्ञान , प्रविधि र स्वास्थ्य अर्को कृषिमा । नेपाल विश्वकै प्राकृतिक सुन्दरता ,प्राकृतिक वनस्पतिमा धनी सङ्गसङ्गै विश्वमा जलस्रोतमा दोस्रो धनी देश । भौगोलिक विविधता भएको देश जहाँ अनेक सम्भावनाहरु छन् । कृषि र पर्यटन हाम्रा मुख्य अति सम्भावित क्षेत्र हुन् । अनि जल ,जङ्गल र वनस्पति हाम्रा सम्भावित क्षेत्र हुन् । रोजगारी लिन मात्रै होइन हजारौंको सङ्ख्यामा एउटाले रोजगारी दिन सक्ने सम्भावना छन् । तर लगानी र जोखिम सरकारले होस् या ब्यक्तिले उठाउन सक्नुपर्दछ । यी र यस्ता क्षेत्रमा सरकार र हाम्रो ध्यान जाने हो भने
कोही रोजगारीका लागि भौतारिएर पलायन हुनुपर्ने अवस्था सिर्जना हुदैन् । गरिबी उन्मुलन हुन सक्छ र देश समृद्धि बन्न पुग्छ ।

अन्त्यमा सोध्न छुटाएका र तपाईंलाई भन्न मन लागेका कुराहरू केही छन्  ? 

लाग्छ मेरो बुद्धि र क्षमताले भ्याएजति सबै कुरा मैले भनिसके । तर पनि जति भनेपनि कुरा सकिने र टुङ्गिने सम्भावना हुदैन । र पनि छोट्याएर अन्तमा भन्दा  हाम्रा भाषा ,साहित्य ,कला, संस्कृति, भेषभूषा अमूल्य गहना हुन् भने राजनीति स्थायीत्वको आधार हुन् भनी कहिल्यै बिर्सनुहुन्न र निरन्तर
कर्म गरिहनुपर्दछ । सम्भावनाहरु हामी आफैंले पहिल्याउने हो । हामी सबैभन्दा मानसिक रुपमा सकारात्मक भइ काम र जिम्मेवारीप्रति निष्ठानवान, बफादार र सम्मान गर्न सक्ने हुनुपर्दछ । गहन अध्ययन अनुसन्धान गर्नुपर्दछ । अन्तमा यो अवसरका लागि तपाईंलाई हार्दिक धन्यवाद । म पनि एक सिकारु हुँ ! यस सिकाइका दौरान तपाईंहरुबाट रचनात्मक  सल्लाह सुझावको अपेक्षा राखेको छु । धन्यवाद ! जय साहित्य !