२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

नेपालमा कोरोनाको जोखिम झन् बढ्दै, काठमाण्डौ उपत्यका जुनसुकै बेला लकडाउन हुन सक्ने

२०७७ श्रावाण १७ शनिवार
नेपालमा कोरोनाको जोखिम झन् बढ्दै, काठमाण्डौ उपत्यका जुनसुकै बेला लकडाउन हुन सक्ने

१७ साउन, काठमाडौं । नेपालमा पछिल्लो केहि दिन यता कोरोना संक्रमितको संख्या घट्दो क्रममा देखिएको थियो तर फेरी अहिले फेरी संक्रमितको संख्या बिस्तारै बढ्दै गएको छ ।

केहि दिन यता कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दो क्रममा रहेको छ । हिजो शुक्रबार मात्र नेपालमा कोरोनाबाट एकैदिन ४ जनाको ज्यान गएको थियो । यो नेपालमा एकैदिन मृत्यु हुनेमा अहिले सम्मको सबैभन्दा धेरै संख्या हो । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

देशमा लकडाउन अन्त्य भए संगै कोरोनाको जोखिम पनि झन् बढेको विज्ञहरुले बताउदै आएका छन् । काठमाडौँ उपत्यकामा पनि केहि दिन देखि संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या बढे संगै उपत्यका छिर्ने मुख्य नाकामा झन् कडाई गर्ने सरकारले निर्णय गरेको छ ।

काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या छ सय ३ पुगेको छ । पछिल्ला दिनमा बढिरहेको संक्रमितहरुको संख्या, ‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा पनि सङ्क्रमण देखिनु, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरमा सङ्क्रमण बढ्नु, तरकारी पसल तथा महाबौद्धको होलसेल पसलका व्यापारीहरुमा कोरोना सङ्क्रमण हुनु लगायतका कारण काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम निकै बढेको छ ।

काठमाण्डौ उपत्यकामा सङ्क्रमित थपिने क्रम बढेपछि सरकारले काठमाण्डौ भित्रने नाकाहरुमा स्वाव संकलन गरेर परीक्षण गर्न थालेको छ । यसरी गरिएका परीक्षणमा पनि कोरोना सङ्क्रमण भेटिन थालेका छन् ।

लकडाउन अन्त्य भए संगै कोरोना भाइरसको जोखिम बढ्दै गएपछि देश फेरि लकडाउनतर्फ उन्मुख भएको हो । स्वास्थ्य क्षेत्रका विज्ञ र जानकारहरुले पछिल्लो समय कोरोना भाइरस झन् खतरनाक बनेको बताउँदै आएका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञ र जानकारहरुले कोरोना समुदायमा फैलन थालेको भन्दै केही समय लकडाउनको सुझाव दिएपछि सरकार गम्भीर भएको छ । स्वास्थ्य मन्त्रालयमा समेत लकडाउनबारे छलफल भएको छ ।

अहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा समूहमा बस्ने मानिसहरुमा कोरोना सङ्क्रमण बढेको छ । जनसम्पर्कमा बस्ने मानिसमा सङ्क्रमण निकै बढेको छ । यदि यो अवस्थालाई नियन्त्रण गर्न सकिएन भने अब अस्पतालमा बेड नपाउने तथा समयमा उपचार नपाउने अवस्था समेत आउन सक्ने मन्त्रालयले चेतावनी दिएको छ ।

७ साउनबाट लकडाउन अन्त गरिएपनि फेरि कडाई गर्नुपर्ने सुझावहरु दिइएको बुझिएको छ । त्यसबारे थप छलफलका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव लाने तयारी बढेको छ ।

लकडाउन सुरु हुनासाथ काठमाण्डौ उपत्यका छाडेर हिँडेकाहरु अहिले बिस्तारै फर्किन थालेका छन् । त्यसरी फर्किएकाहरुमा कोरोना सङ्क्रमण देखिन थालेको छ भने सङ्क्रमितसँग सम्पर्क नभएकामा समेत कोरोना पुष्टि भएको छ । यसले गर्दा अब काठमाण्डौ उपत्यका कोरोना महामारीको निकै खतरामा परेको छ ।

यदि मानिस आउने क्रम रोकिएन, सङ्क्रमण बढ्दै गयो भने लकडाउन वा नाकाबन्दको निर्णय हुने स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले जानकारी दिनुभयो।