२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

नेपाली कामदार कुटपिटको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएसँगै घटनाबारे अनुसन्धान गर्दै मलेसिया प्रहरी

२०७७ श्रावाण १६ शुक्रबार
नेपाली कामदार कुटपिटको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएसँगै घटनाबारे अनुसन्धान गर्दै मलेसिया प्रहरी

१६ साउन, काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा सुपरभाइजरबाट कुटिएका एक नेपाली युवकको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएसँगै प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ।

मलेसियाको अनलाइन पत्रिका मलेसियाकिनीका अनुसार प्रहरीले सेक्युरिटी गार्डमा कार्यरत एक नेपाली कामदारमाथि कुटपिट गर्ने व्यक्ति र पीडितबारे खोजबिन गरिरहेको छ। प्रहरीले सेक्युरिटी गार्डमाथि कुटपिट गरेको उक्त घटनाबारे अनुसन्धान शुरु गरेको हो।

मलेसियाको वांग्सा माजु जिल्ला प्रहरी कार्यालयका अनुसार कुटपिट गर्ने व्यक्ति र पीडितबारे पहिचान गर्ने काम भइरहेको छ।क्वालालम्पुरको तामान मेलातिस्थित एक व्यापारिक भवनमा उक्त घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

नेपाली कामदार कुटपिट भएको उक्त भिडियो ७ जुलाईमा फेसबुक पेज एसक्यू सोउल सेभेनमा पोष्ट भएको देखिन्छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले नै नेपाली कामदारमाथि भएको कुटपिटको घटनाबारे प्रहरीमा उजुरी दर्ता गरिसकेको छ।

दूतावासले उक्त घटनाबारे थप कुनै जानकारीहरू भेटिए हटलाइन ०१६ २४७ २७७७ मार्फत खबर गर्न भनेको छ। नेपाली कामदार कुटिएको उक्त घटनाबारे मलेसियाका अधिकारवादी संस्थाहरूले पनि छानबिनको माग गरेका छन्।