२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

एन्फा र भक्तपुर जिल्ला फुटबल संघलाई सर्वोच्चले छलफलमा बोलायो

२०७७ श्रावाण १६ शुक्रबार
एन्फा र भक्तपुर जिल्ला फुटबल संघलाई सर्वोच्चले छलफलमा बोलायो

१६ साउन, काठमाडौं । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ र भक्तपुर जिल्ला फुटबल संघलाई छलफलमा बोलाएको छ । एन्फाले गत असार २ गते जिल्ला फुटबल संघ भक्तपुरको कार्यसमिति प्रतिस्थापन गरी अर्को तदर्थ समिति गठन गरेको छ ।

हालको समितिले विधान विपरीत गतिविधि गरेको भन्दै एन्फा कार्यसमितिको बैठकले किशोर हेक्का अध्यक्ष रहेको १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । गौतम सुखजुको नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघले एन्फाको छानबिन समितिले दिएको सुझाव र एन्फाको निर्देशन नियमावली र कानुनी प्रक्रिया समेतको उल्लंघन गरेर जिल्ला लिग सञ्‍चालन गरेको एन्फाले बताएको थियो ।

एन्फाले गरेको निर्णयप्रति अध्यक्ष गौतम सुखजुले एन्फाविरुद्ध मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतको आजको आदेशले एन्फा र भक्तपुर जिल्ला फुटबल संघलाई यही साउन २१ गते छलफलका लागि बोलाएको छ । निवेदककातर्फबाट अधिवक्ता राजु बस्नेत, लिला मणि पौड्यल, गोपाल पाण्डे र सुजित केसीले बहस गरेका थिए ।