२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

नेपालमा निजी विद्यालयको शैक्षिक इतिहास र आवश्यकता

२०७७ असार ३१ बुधबार
नेपालमा निजी विद्यालयको शैक्षिक इतिहास र आवश्यकता

ललित न्यौपाने
शिक्षक, क्रियटिभ लर्नर्स एकेडेमी,
मध्यपुर ठिमी-६, भक्तपुर

३१ असार । नेपालमा शैक्षिक इतिहासको विकास क्रमलाई हेर्ने हो भने राणाकाल भन्दा अगाडि र पछाडीको शिक्षाको अवस्थालाई बुझ्न सकिन्छ । वि।सं। १९१० मा जङ्ग बहादुरले दरबार स्कुलको स्थापना गरेपछि नेपालमा शैक्षिक विद्यालयको विकास भएको पाइन्छ । लिच्छविकाल र मल्लकालको समयमा शिक्षाको आफ्नै किसिमको ढाँचा थियो । गुरुकुलीय परम्परा अनुसार शिक्षा लिनेदिने गरिन्थ्यो । ती मध्ये केही स्वतन्त्र र केही धार्मिक गुठी अन्तर्गत सञ्चालित थिए । विशेष गरी चित्रकला, मूर्तिकला र विभिन्न दर्शन सम्बन्धि पढाइ हुन्थ्यो । धार्मिक गुठीअन्तर्गत सञ्चालित विद्यालय बाहेक निजी वा स्वतन्त्र रुपमा सञ्चालित गुरुकुल नै निजी विद्यालय हुन् ।

नेपालको एकीकरण पछि शिक्षा विकासले केही नयाँ मोड लिएको थियोे । विशेषज्ञहरुलाई बाहिरबाट ल्याएर भए पनि विभिन्न कला, संस्कृत जस्ता विषयवस्तुमा शिक्षा दिन थालियो । पछि युद्धमा मारिएका सिपाही र सेनाका टुहुरा छोराछोरीलाई शिक्षामा विशेष छात्रवृत्ति दिने चलनको सुरुवात गरियो । वि.सं.१९१० सालमा जङ्गबहादुरले थापाथलीमा स्थापना गरेको दरबार स्कुल आफ्ना भाइभारदार र आफन्तलाई मात्र शिक्षा दिने गरी खोलिएको थियो । अङ्ग्रेजी माध्यमको पढाइ हुने उक्त विद्यालय नै निजी विद्यालय हो । पछि सर्वसाधारणले समेत पढ्न पाउने गरी दरबार स्कुल रानीपोखरीमा सारिएको थियो । दरबार स्कुलका बारेमा केही तर्क वितर्क भए पनि नेपालमा शिक्षा विकासका आधारमा आधुनिक युगको सुरुवात भने यही स्कुलको स्थापना पछि सुरु भएको कुरा इतिहासकारले बताएका छन् ।

नेपालको कुनै पनि भूभागमा नयाँ विद्यालय खोलिएका थिएनन् । सक्ने र सचेत व्यक्तिहरु त्यति बेला देश बाहिर विद्यालय लगायत अन्य विश्वविद्यालयमा पढ्न जाने गर्दथे । आधारभूत तहको शिक्षा भने उतैबाट पढेर आएका मानिससँग गाउँमै सिक्ने चलन थियो । नेपालमा त्यो बेला विद्यालय खोल्ने, पढ्ने कुरा कानून विपरीत हुन्थ्यो । त्यसैले जान्ने बुझ्नेहरुले घरमै विद्यार्थी बोलाएर सामान्य लेखपढ गर्न सिकाउने चलन थियो । यस्तो ढाँचाको अनौपचारिक शिक्षा पनि निजी शिक्षा नै हो ।

वि.सं. १९७५ सालमा चन्द्र समशेरले त्रिचन्द कलेजको स्थापना गरेपछि शैक्षिक अवस्था केही सहज बन्दै गयो । राणाकालीन समयमा चन्द्र समशेर, देव समशेर, पद्म समशेर लगायतका प्रधानमन्त्रीहरुले शिक्षाको विकासमा केही टेवा पुर्‍याएका थिए । तसर्थ देशभित्र विद्यालयको अभावमा शिक्षाका नाममा देश बाहिर जाने चलन प्रजातन्त्र स्थापनाको करिब दुई दशक पछिसम्म पनि चलिरह्यो । शिक्षाको इतिहासलाई हेर्ने हो भने समाजमा औपचारिक विद्यालय र शिक्षा बन्देज हुँदा पनि निजी ढङ्गले सञ्चालित अनौपचारिक शिक्षाले समाज विकासको प्रक्रियालाई गतिशीलता दिएको पाइन्छ । राणाकालीन समयमा पनि शिक्षाका लागि विदेशिनु पर्ने बाध्यतालाई यस्ता अनौपचारिक निजी शैक्षिक गतिविधिले धेरै सहयोग गरेको पाइन्छ ।

वि.सं.२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि वि।सं। २०१० सालमा शिक्षा विधान निर्माण गरी शिक्षाको योजनाबद्ध विकासका लागि पहल सुरु गरियो । निश्चित लक्ष्यसहित गाउँगाउँमा विद्यालय स्थापना गर्न थालियो । देशमा पञ्चायती व्यवस्था सुरु भएपछि शिक्षालाई व्यवस्था अनुकुल हुने गरी सुरु गरियो । सोही अनुरुप वि।सं। २०२३ सालमा शिक्षा नियमावली सार्वजनिक गरिएको थियोे । वि।सं। २०२५ र २०२७ सालमा जारी भएको शिक्षा ऐन २०२८ मा कार्यान्वयन भयो । शिक्षा नियमावली वि।सं।२०२८ अहिले पनि संशोधित अवस्थामा जारी नै छ । तर, यो बीचमा षडानन्द अधिकारीले वि।सं। २०२० सालमा भोजपुरमा स्थापना गरेको संस्कृत विद्यालय ग्रामीण क्षेत्रमा शिक्षा विकासका दृष्टिकोणले निकै उल्लेखनीय काम भएको थियोे । उक्त समय षडानन्द अधिकारीले स्थापना गरेको विद्यालय नै निजी विद्यालय थियो र पछि उक्त विद्यालय गुठीमा रुपान्तरण भएको थियोे ।

वि.सं.२०३७ सालमा कानूनी रुपमै निजी विद्यालय खोल्न पाउने व्यवस्था लागू भएपनि पछि यसलाई खारेज समेत गरियो । वि।सं। २०४८ सालमा निजी क्षेत्रको पहिलो विश्वविद्यालय काठमाडौँ विश्वविद्यालयको स्थापना भएछि वि।सं। २०४९ सालमा शिक्षा ऐन सातौँ शंशोधन मार्फत निजी र सार्वजनिक विद्यालय दुबैको प्रावधान खुला गरेपछि नेपालमा निजी विद्यालयको विकास भएको पाइन्छ । वि।सं। २०४९ साल देखि हालसम्म थुप्रै कठिनाइका बीचमा पनि निजी विद्यालय अघि बढिरहेका छन् । वर्तमान अवस्थालाई अध्ययन गर्ने हो भने करिब ८ हजारभन्दा बढी निजी विद्यालय देशभर सञ्चालित छन् । करिब दुई लाखभन्दा बढी शिक्षक कर्मचारीलाई रोजगारी दिएको निजी क्षेत्रसँग कुल विद्यार्थी सङ्ख्याको करिब २३ प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।

सन् २०१७ मा तत्कालीन शिक्षा विभागले गरेको राष्ट्रिय सर्वेक्षणका आधारमा बनेको रिपोर्ट हेर्ने हो भने सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म करिब ३३ लाख १२ हजार विद्यार्थी भर्ना हुँदा निजी विद्यालयमा ६ लाख ५७ हजार विद्यार्थी भर्ना भएका थिए । सरकारी तथ्याङ्कले निजीको उपस्थितिलाई केही कमजोर देखाए पनि निजी विद्यालयप्रति अभिभावक वर्गको बढ्दो आकर्षण र सार्वजनिक विद्यालयको निरन्तर ओरालो लाग्दो गतिले निजी विद्यालयको वास्तविक उपस्थिति बलियो रहेको पाइन्छ ।

देशले भोग्नु परेको दश वर्षसम्मको लामो जनयुद्धले गर्दा शिक्षा क्षेत्रमा ठुलो सङ्कट आइ लाग्यो । निजी विद्यालय पनि आफैँ एक गम्भीर समस्यामा पर्‍यो । तर, आफ्नो अस्तित्वमै आँच आउने विभिन्न समस्यालाई चिर्दै त्यस्तो सङ्कटका बीच पनि शिक्षा क्षेत्रको संवेदनशीलता र उत्तरदायित्व मनन गर्दै निजी विद्यालयले ठुलो जिम्मेवारी निर्वाह गरेको थियो । सार्वजनिक विद्यालयमा शिक्षकको पदपूर्ति, विद्यालय व्यवस्थापनमा कठिनाई लगायतका अनेकौं समस्याका कारण सार्वजनिक विद्यालय ओरालो लागेको सन्दर्भमा निजी विद्यालय भने शैक्षिक गुणस्तरका लागि प्रतिबद्ध भएर अघि बढी नै रह्यो । निरन्तर देश र समाजलाई शिक्षाका माध्यमबाट अगाडि बढाउने जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै निजी विद्यालय आज अभिभावक वर्गको विश्वास जितेर राष्ट्रलाई ठुलो योगदान दिन सफल भएका छन् । निजी विद्यालयका सञ्चालक, व्यवस्थापक, शिक्षक तथा सम्पूर्ण कर्मचारीहरु विद्यार्थी र अभिभावकप्रति उत्तरदायी बन्दै विनम्र हुनुका साथै गुनासा तथा प्रतिक्रिया सुन्छन् र आफ्नो जिम्मेवारी बहन गर्दछन् । विद्यालय, विद्यार्थी, अभिभावक तथा समाजप्रति जवाफदेही हुने गर्दछन् ।

विद्यार्थीको सिकाइप्रति निजी विद्यालयले सधैँ चासो र चिन्ता लिने गर्दछन् । विद्यार्थीको चौतर्फी विकासका लागि हरेक क्रियाकलापमा विशेष जोड दिन्छन् । निजी विद्यालयले राष्ट्रिय परीक्षा बोर्ड होस् वा चाहे अन्य कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता होस्, जुनसुकैमा पनि आफूलाई अब्बल बनाउँदै आएका छन् । एसईई परीक्षाको विगत र वर्तमानको मूल्याङ्कन हेर्ने हो भने शिक्षाको क्षेत्रमा राज्यको इज्जत र प्रतिष्ठा नै निजी विद्यालयले बचाएको पाइन्छ । त्यति मात्र नभई राष्ट्रिय तथा अन्तर्रािष्ट्रय स्तरका हरेक क्षेत्रमा निजी विद्यालयकै उत्पादन उच्च स्थानमा रहेकोे उदाहरणहरु देख्न सकिन्छ ।

नेपालमा अहिलेको एक्काइसौँ शताब्दीका प्रमुख आवश्यकता र गतिशीलतालाई मनन गर्न उपयुक्त किसिमको दक्ष जनशक्ति निर्माण गर्न सक्नु पर्दछ । शिक्षा समय सापेक्ष भएन, विद्यार्थीलाई नयाँ ज्ञान सिक्ने इच्छा जगाएन, नयाँ कुराको खोज तथा अनुसन्धान गर्ने चासो दिलाउन सकिएन भने त्यो शिक्षाको महत्त्व हुन सक्दैन । निजी विद्यालय यो कुरामा धेरै नै सचेत र होसियार भएको पाइन्छ । पहिला भन्दा अहिले नयाँ सोचका साथ कसरी काम गर्न सकिन्छ भन्ने कुरामा गम्भीर देखिन्छ । आफूलाई आफैँसँग प्रतिस्पर्धी बनाउँदै विश्व स्तरको शिक्षा दिलाउन निजी विद्यालय सफल देखिएकाले नेपाल जस्तो विकासशील मुलुकमा निजी विद्यालयको विकल्प देखिन्न ।

हाल आएर निजी विद्यालयप्रति विभिन्न बहानामा निरुत्साहित गर्ने गरी गतिविधि बढेको देखिन्छ । निजी विद्यालयलाई ध्वस्त पार्ने खेलमा केही पक्ष खुलेर लागेको पाइन्छ । यसले राज्यलाई कुनै फाइदा नभई घाटा हुने निश्चित नै छ । शिक्षा जस्तो संवेदनशील कुरामा गम्भीर भएर अघि नबढ्दा वा नीति नबनाउँदा ठूलो दुर्घटना हुन सक्दछ ।

अभिभावक वर्गले मन पराएको र विश्वास गरेको निजी विद्यालयलाई हटाउँदा जनताको ठूलो धनराशी शिक्षाको नाममा विदेशीने सम्भावना बढ्ने भएकाले यो राज्यकै निम्ति नोक्सान हुन पुग्दछ । शिक्षा नै विकासको मूल आधार र समृद्धिको अत्यावश्यक सिँढी भएकाले आधारको सबैभन्दा बलियो जग नै निजी विद्यालय बनेका छन् । यस सन्दर्भमा निजी विद्यालय निर्विकल्प बनेका छन् र भविष्यमा पनि बन्नेछन् ।