२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि प्रदर्शन गर्ने

२०७७ असार १५ सोमबार
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि प्रदर्शन गर्ने

१५ असार, काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न बृहत् प्रदर्शन गर्ने भएको छ।
महास‌ंघको उपलब्ध पदाधिकारी तथा सदस्यको आजको बैठकले यसअघि सञ्चारगृहमा समयसीमासहित बुझाइएको चेतावनीको समेतका आधारमा यही असार १९ गते बबरमहलमा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको हो।
महासंघका अध्यक्ष गोविन्द आचार्यले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भइरसको सङ्क्रमणले सञ्चार क्षेत्रमा परेको असर र श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका विषयमा गम्भीर समीक्षा गरी बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको निष्कर्ष बैठकले निकालेको जानकारी दिएको छ।
महासंघले श्रमजीवी पत्रकारको हक अधिकार संरक्षणका लागि सशक्त आन्दोलनमा उत्रने निर्णय यसअघि नै लिइसकेको थियो। साथै समस्या देखिएका सञ्चारगृहमा यही असार २० गतेदेखि आकस्मिकरूपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसद्, पेशागत संघ संगठन, संयुक्त राष्ट्रसंघ, अन्तरराष्ट्रिय पत्रकार महासंघ (आइएफजे), अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायलाई ऐक्यबद्धताका लागि आग्रह गर्ने निर्णय महासंघले गरेको छ।