२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads

किन आफूलाई अरूसँग दाँज्ने ?

२०७७ जेठ २ शुक्रबार
किन आफूलाई अरूसँग दाँज्ने ?

एउटा धनाड्यसँग तुलना गर्न थाल्यौं भने आफूलाई निकै गरिब एवं अभावग्रस्त पाउनेछौं । एउटा प्रभावशाली व्यक्तिसँग तुलना गर्न थाल्यौं भने आफूलाई निकै कमजोर एवं निरीह पाउनेछौं । एउटा आकर्षक व्यक्तिसँग तुलना गर्न थाल्यौं भने आफूलाई निकै नराम्रो पाउन थाल्छौं । यी सबैकुरा त्यहीबेला लाग्ने हो, जब हामी अर्कालाई हेर्न थाल्छौं । अर्थात् अर्कासँग आफूलाई दाँजेर हेर्छौं ।

संसारमा कोही मानिस सबै हिसाबले पूर्ण हुँदैनन् । कोही आकर्षक एवं सुन्दर हुन्छन्। तर, उनीहरूसँग कुनै शिल्प नहुन सक्छ । कोही धनाड्य हुनसक्छन् तर उनीहरू निरोगी नहुन सक्छन् । कोही बलवान हुन सक्छन् तर उनीहरूसँग धनदौलत नहुन सक्छ ।

हरेकको आ-आफ्नै कमजोरी हुन्छ, आ-आफ्नै सवल पक्ष हुन्छ । त्यस्तो सवल पक्ष र कमजोरी तपाईंसँग छ, हामीसँग छ, सबैसँग हुन्छ । अर्कासँग आफूलाई दाँज्नु भनेको आफैँलाई कमजोर तुल्याउनु हो ।

सत्य के हो भने अरूको उन्नति अरूको उचाइ हेरेर त्यस अनुरुप आफूलाई पनि माथि उठाउन प्रयास गर्नुपर्छ । यसले जीवनमा केही गर्नुपर्छ भन्ने भावनालाई प्रवल बनाउँछ । कर्म गर्न उक्साउँछ र जीवनप्रति आशा जगाइदिन्छ ।

तर, अर्कालाई हेरेर आफूलाई कमजोर ठान्नु कुनै समस्याको समाधान होइन । त्यसले बरू आफूमा हीनताबोध पैदा हुन्छ । हीनताबोध पैदा भएपछि आत्मामनोबल कमजोर हुन्छ । आत्ममनोबल कमजोर भएपछि कुनैपनि काम गर्ने हिम्मत हराउँछ । जब यस्तो अवस्था आइलाग्छ, हामी दुखी, निराश, चिन्तित हुन पुग्छौं ।

संसारमा कतिपय कुराहरू हुन्छन्, जो हाम्रो प्रयासमा बद्लिन्छ । जस्तो हामी गरिब छौं, समुचित प्रयास गरियो भने गरिबी हटाउन सकिन्छ । हामी अनाकर्षक छौं, उचित ख्याल विचार गरियो भने स्मार्ट देखिन सक्छौं । रोगी छौं, स्वास्थ्यप्रति सजग भइयो भने निरोगी हुन सक्छौं ।

तर, कतिपय कुराहरू बदल्न सकिँदैन । जस्तो कि, निश्चित उमेरपछि हाम्रो शारीरिक बनौट, रुपरङ्ग, उचाइ निश्चित हुन्छ । यी कुरालाई हाम्रो सामर्थ्यले बदल्न सकिँदैन । यी कुरामा हामीले चिन्ता गरेर वा दु:खी भएर हुनेवाला केही छैन । जस्तो छौं, त्यस्तै रुपमा स्वीकार्नुपर्छ ।

हामी दु:खी हुने अर्को कारण भनेको अपेक्षा पनि हो । हामी आफ्ना परिवार, सन्तान आदिसँग अपेक्षा गर्छौं ताकि आफूले भनेजस्तो सबैकुरा ठिकठाक होस् । राम्रो कमाइ गर्ने पतिले सोच्छन् कि पत्नीले पनि यत्तिकै आर्जन गरे कति भलो हुने थियो । कुनै कुरामा पोख्त पत्नीले सोच्छिन्, घरका अरू सदस्यले पनि मैले जस्तै सिप जानेको भए कति राम्रो हुने थियो ।

यस्ता कुराले हामीलाई कहिल्यै खुसी दिँदैन । किनभने तपाईंमा जे खुबी छ, तपाईंकी पत्निमा त्यस्तै खुबी हुनुपर्छ वा हुन्छ भन्ने छैन । मार्क जुकरवर्गकी पत्नीले पनि उति नै सशक्त र चामत्कारिक प्रविधिको अवधारणा पहिल्याउनुपर्ने हो । बिल गेट्सले बराबर उनकी पत्नीले पैसा आर्जन गर्नुपर्ने हो । आफू बराबर आफ्ना पति-पत्नी-दाजुभाइ-छोराछोरी हुनुपर्छ भन्ने अपेक्षाले उचित हुँदैन ।

जीवनमा सबै कुरा धन दौलतले, सुखसयलले मात्र प्राप्त हुँदैन । जीवनको यो यर्थाथलाई बुझेर सकेसम्म रसपूर्ण, सारपूर्ण जीवन बाँच्ने प्रयास गर्नुपर्छ । जीवनलाई रमाइलो बनाउने वा सार्थक तुल्याउने कुरा भनेको कर्म हो । सकारात्मक र सार्थक कर्म । यस्ता कर्मले खुसी दिलाउँछ । खुसीले जीवनलाई उज्यालो बनाउँछ ।

खुसी हामीले खरिद गर्ने कुरा होइन, सापटी लिने कुरा होइन । हुन सक्छ, भौतिक कुराले यसमा केही प्रभाव पार्छ । तर, यो पूर्णत: मानसिक कुरा हो । जब हामी हरेक कुरालाई हेर्ने र बुझ्ने दृष्टिकोण सही बनाउँछौं, हाम्रो लागि खुसी दूर्लभ हुँदैन । हामी आनन्दसाथ, खुसीसाथ जीवन बिताउन सक्छौं ।

खुसी हुनका लागि स्वस्थ्य हुनुपर्छ । स्वस्थ्य र खुसी एकअर्कामा जोडिएर आउने कुरा हुन् । स्वस्थ्य हुनका लागि उचित खानपान, उचित जीवनशैली, उचित विचार आवश्यक हुन्छ ।

हामीले आफ्नै मनलाई यसरी तालिम दिनुपर्छ कि स-सानो कुरामा पनि खुसी हुने । जब हामी खुसी हुन्छौं, हाम्रो लागि संसार खुसी हुनेछ।